१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस


52
Shares

काभ्रे । निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि काभ्रेमा जाँचमा कडाइ गरिएको छ ।

निषेधाज्ञा पालना नगर्ने पैदल यात्रीलाई होल्ड गरेर सम्झाइबुझाइ पठाउने र सवारी साधनलाई नियन्त्रमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारले जारी गरेका आदेश अवज्ञा गरी विनाकाम सडकमा निस्कने २ सय भन्दा बढीलाई प्रहरीले बनेपा चारदोबाटोबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूलाई कुखुरा बनाइ, उठबस गर्न लगाइएको छ ।

तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक विशाल सिंहले जानकारी दिनुभयो ।

काभ्रेमा गत १९ गते मध्यरातिबाट लागू हुनेगरी विभिन्न क्षेत्र तोकेर एक हप्ता निषेधाज्ञा गरिएको छ । बिहीबार दिउसोसम्म जिल्लामा २ सय ५० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख श्रेष्ठले बताउनुभएको छ ।