
गृष्मा राजभण्डारी/कोमल शेरचन
काठमाडौं । नेपाली संगीतका लागि आज एउटा दुःखद दिनका रूपमा परिणत भयो । गीत–संगीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका वरिष्ठ संगीत साधक प्रेमध्वज प्रधानको ८४ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।
छाती र स्वास प्रस्वासमा समस्या देखिएपछि उहाँको सुन्धारास्थित न्यूरो तथा जनरल अस्पतालमा उपचार भइरहेको थियो । प्रधानको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गोल्डेन भ्वाइसको उपमा पाउनुभएका प्रधानको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको कालजयी गीत नेपाली स्रोताका मनमस्तिष्कमा उसै गरि घन्किरहने छन् ।
नेपाली संगीतको श्रीवृद्धिका लागि जीवन समर्पण गर्नुभएका प्रधानको निधन नेपाली सांगीतिक क्षेत्रका लागि अपूरणीय क्षति बन्न पुगेको छ । वि.सं १९९४ मा सिन्धुपाल्चोकमा जन्मनुभएका प्रधानले सानै उमेरबाट संगीत क्षेत्रमा आफ्नो पाइला चाल्नुभएको थियो । उहाँका लागि घर नै संगीतको पहिलो पाठशाला थियो ।
आफ्ना आमा र हजुरबुबाबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्नुभएका प्रधान १६ वर्षको उमेरमा स्वर परीक्षा उत्तीर्ण गरि संगीत र गायनको व्यावसायिक जीवनमा प्रवेश गर्नुभयो । प्रधानले भारतको कोलकताबाट पहिलो पटक गीत रेकर्ड गराउनुभएको थियो ।

आफ्नै खर्चमा चार वटा गीत रेकर्ड गराएर थालनी गरेको सांगीतिक यात्रामा त्यसपछि उहाँले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । कुनै समय नेपाली संगीतमा प्रधानकै एक छत्र राज थियो । प्रधानको आवाज मात्र जादूमयी थिएन, तात्कालीन समयमा उहाँ शारीरिक रूपमा पनि उत्तिकै आकर्षक मानिनुहुन्थ्यो ।
प्रधानले गाउनुभएका ‘घुम्तीमा नआउ है’, ‘तोरी फुल्यो’, ‘तिमीलाई अचेल कहाँ भेँटु’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’ जस्ता गीत कालजयी छन् । भारतीय गायिका उषामंगेशकरसँग उहाँले नै पहिलो पटक युगल गीत ‘नमान लाज यसरी’ रेकर्ड गराउनुभएको थियो । जुन आजपर्यन्त उत्तिकै कर्णप्रिय छ । सयौं पुरस्कार र सम्मानबाट सम्मानित प्रधान ईमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुहुन्थ्यो ।
यस्ता अनेकन कालजयी गीतका सर्जक प्रधानको निधन नेपाली संगीत आकाशका लागि अपूरणीय क्षति नै हो । उहाँको भौतिक शरीर हामी माझमा नरहे पनि उहाँले छाड्नु भएका कालजयी कृतिहरूले उहाँलाई सदाका लागि अमर बनाइराख्नेछन् । यस दुःखद् घडीमा स्वर्गीय प्रधानप्रति हाम्रो पनि हार्दिक शब्दश्रद्धा ।
प्रतिक्रिया दिनुहोस्