
बैतडी । कोरोना भाइरसको नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकारसमेत संक्रमणको चपेटामा परेका छन् ।
हालसम्म बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सबैभन्दा बढी कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भएको बताउनुभयो ।
यस्तै कञ्चनपुर र डडेल्धुरामा ३/३, बैतडी, डोटी र बाजुराका २/२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा परेका छैनन् ।
संक्रमित २४ जनामध्ये कैलालीका १ जनाको स्वास्थ्य अवस्था जटिल भएकाले उपचारका लागि काठमाडौं लगिएको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । संक्रमित अन्य २३ जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेकाले होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्