
काठमाडौं । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा संक्रमितको चाप बढ्दै गएको छ ।
कोभिड–१९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र बिहिबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ ।
विशेष गरेर काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ । सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो ।
निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भए पनि समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिँदै आएका छन् ।
निजी अस्पतालहरूको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्