
काठमाडौं । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै स्टेफेन समीर र छिरिङ गुरुङले १–१ गोल गरे ।
विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालले १–१ गोल गरे । जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ । जितपछि ललितपुरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।
बुटवल भने लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्