
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले विरोध गरेको छ । खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने प्रस्तावमा अमेरिकाले आफ्नो समर्थन रहने जनाएको थियो ।
तर जर्मनीले भने वाैद्धिक सम्पती अधिकार अन्वेषण वा वैज्ञानिक खोजीको स्रोत रहेकाले त्यो कायम रहनु पर्ने मत राखेको छ । युरोपियन युनियनले भने यसबारे वार्ता गर्न तयार रहेको यसअघि नै बताएको थियो ।
विश्व व्यापार संगठनले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि वाैद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको छ । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएपछि जर्मनीले विरोध गरेको हो ।
भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ । तर औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शंका रहेको बताएका छन् ।
भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपलाई वाैद्धिक सम्पती अधिकार मुक्त बनाएर सबैलाई उत्पादन अधिकार दिनुपर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । खोपको वाैद्धिक सम्पती अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने सो पक्षधरको भनाई छ।
प्रतिक्रिया दिनुहोस्