१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा चियासँगै कफी खेती विस्तार


26
Shares

प्रकाश नेपाल
इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा कफि खेती पनि विस्तार हुन थालेको छ । यहाँका कृषक समूहगत रूपमा र व्यक्तिगत रूपमा पनि कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका दक्षिणी र पश्चिमी क्षेत्रमा यसको खेती विस्तार बढ्दो छ । नेपाल चिया तथा कफि विकास बाेर्डको तथ्याङ्कअनुसार इलाममा ९ सय २० कृषक आबद्ध छन् ।

केहि वर्षअघि सुरु भएको कफि खेती विस्तार हुँदै अहिले ९१ हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाको कूल उत्पादन वार्षिक २० मेट्रिक टन रहेको छ । जिल्लामा ३० हजार हेक्टरमा कफि खेती विस्तार गर्न सकिने बाेर्डको तथ्याङ्क छ । इलाममा कफि खेती विकासको सम्भाव्यता अध्ययन गर्दै विरुवा उत्पादन र खेती विस्तारको पहल थालिएको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले बताउनुभयो ।

इलामको माटो कफि खेतीकालागि अब्बल रहेको सरोकारवालाको भनाइ छ । कफि खेती ८ सय देखि १६ सय मिटरसम्म गर्न सकिन्छ । कृषकस्तरबाट कफि खेती थालिए पनि बाेर्डले अहिले सम्म ठोस कार्यक्रम ल्याउन नसक्दा कृषक समस्यामा छन् । चालु आर्थिक वर्षमा बाेर्डले खेती विस्तारका लागि कार्यक्रम ल्याएको हो ।

कृषकले खेती विस्तार गर्न चाहे पनि गुणस्तरीय विरुवाको अभाव, आवश्यक प्राविधिक ज्ञानको अभाव, रोग किराको प्रभाव जस्ता समस्या खेप्नु परेको कफि खेती गरिरहेका किसानहरूको भनाइ छ । रोपेको ४ वर्षपछि उत्पादन दिने कफिको एउटा बाेटबाट कम्तिमा १५ किलोसम्म उत्पादन हुन्छ ।

पश्चिमा देशमा अत्याधिक खपत हुने कफि स्वास्थ्यका हिसावले राम्रो मानिन्छ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफि खेती भइरहे पनि हावापानीको दृष्टिकोणले इलाम अब्बल मानिन्छ । त्यसैले पनि चियासँगै कफि खेतीको विकासका लागि स्थानीय सरकारले चासो देखाएर किसानहरूलाई प्राेत्साहित गराउन आवश्यक देखिन्छ ।