
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना संक्रमण देखिएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो ।
नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए ।
वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । ती सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्