
काठमाडौं । कोभिड फैलावट नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेसँगै कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।
निषेधाज्ञाअघि दैनिक ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावट आएपछि कारोबारमा पनि ह«ास आएको हो ।
तरकारी कम आए पनि मूल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउने बित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने मूल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरूको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ ।
सर्वसाधरणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक निर्देशक अर्जुनप्रसाद अर्यालले जानकारी दिनुभयो ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । समितिले स्थानीय तहसँगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर, खरिद बिक्रीका लागि भने राति १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ ।
यसअघि कालिमाटी बजारमा राति ३ बजेदेखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रीका लागि रातिको समय लम्ब्याएको भए पनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ । समितिले बजार भित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस्