
बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग हुने भएको छ ।
गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी सहित सबै सवारीसाधन कोरोना नियन्त्रण र संक्रमित बोक्न प्रयोग गर्ने निर्णय भएको जनाएको छ । गाउँपालिकामा एक–एक वटा एम्बुलेन्स, टीपर, बोलेरो जिप र कार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो ।
यस्तै पालिकाले प्रत्येक वडामा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूलाई सम्पर्क व्यक्तिको रूपमा तोकेको छ । कोभिड संक्रमितलाई आवश्यक परामर्श र सल्लाहका लागि गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीहरू सम्पर्क व्यक्ति तोकिएको धामीले जानकारी दिनुभयो ।
यसैबीच गाउँपालिकाले दुई स्थानमा अक्सिजन सिलिण्डरसहितको १२ शय्याको आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको छ । वडा नम्बर ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नम्बर ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको स्थापनाको तयारी भएको हो ।
प्रतिक्रिया दिनुहोस्