१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ


0
Shares

डम्मर बुढा मगर
बागलुङ । जिल्लामा कोभिडको संक्रमण ह्वात्तै बढेको छ । संक्रमितको संख्या बढेसँगै जिल्लाको सबैभन्दा ठूलो धौलागिरी अस्पताल संक्रमितले भरीभराउ हुँदै गएको छ ।

पछिल्लो समयमा बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा संक्रमितको सख्या तीव्र रुपमा बढिरहेको छ । अस्पतालमा संक्रमितको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिकाले पुरानो कार्यालय रातमाटामा ३० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ भने बडिगाड गाउँपालिकाले पनि बडिगाड डोजोको कभर्डहलमा १० शय्याको आइसोलेसन तयार पारेको छ ।

त्यस्तै पश्चिम बागलुङ बुर्तिबाङ बजारमा पनि १० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिने भएको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा सबै पालिकाले आन्तरिक तयारी थालेका छन् । यद्यपि व्यवस्थापन र तयारी प्रभावकारी नभएको स्थानीयको गुनासो छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा पालिकाले क्षमताअनुसारको तयारीमा रहेको बताउनुहुन्छ ।

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ । होम आइसोलेसनमा रहेका संक्रमतिहरूसँग नगरपालिकाले घरभेटघाट कार्यक्रम थालेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको भनाइ छ ।

जिल्लामा संक्रमणको दर बढ्दै जाँदा आम नागरिकले भने हेलचक्र्याइँ गरेको पाइएको छ । अझै पनि सरकारको निर्देशनलाई पालना नगर्ने हो भने त्यसको परिणाम पक्कै सुःखद हुने छैन । त्यसैले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नु नै सुरक्षित रहने उपाय हो ।