१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय


0
Shares

पर्वत । कोभिड–१९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोलि (वैशाख २८ गते)देखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निर्णय भएको छ ।

जिल्लाका गाउँ–गाउँमा संक्रमण फैलँदै गएपछि पूर्णरूपमा लकडाउन गर्ने निर्णय भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले वैशाख २८ गते राति १२ बजदेखि जेठ ७ गते राति १२ बजेसम्म पूर्णरूपमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको थियो ।

लकडाउन अवधिभर नागरिकहरूलाई घर वाहिर निस्कन र हिँडडुल गर्न निषेध गर्ने, सिनेमा हल, आमसभा, जुलुस, खेलकुद लगायतका मानिसको भिडभाड हुने कार्यक्रम पुर्ण रुपमा बन्द गरिने, मठ मन्दिरमा नित्य पुजामात्र गर्ने, विवाह र मृत्यु संस्कारमा बढिमा १० जना मात्र सहभागि हुन पाईने भएको छ ।

त्यसैगरी एमबुलेन्स, दमकल, शववहान, खाद्य सामाग्री, फलफुल, माछा, मासु, ग्याँस, पेट्रोल, प्रेसका सवारीलाई संचालन गर्न दिईने, बैंक तथा वित्ति संस्थाहरु आलोपालो गर्दै न्यून कर्मचारीको उपस्थितमा संचालन गर्नेपर्ने सिसीएमसी पर्वतले जनाएको छ ।

विकास निर्माणका कामहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सुचारु गर्ने, लघुवित्त, सहकारी तथा कम्पनीका सेवा पुर्ण रुपमा बन्द गर्ने, औषधी तथा स्वास्थ्य संस्था चौविसै घण्टा खोल्नुपर्ने तथा खाद्यान्नका पसलहरु विहान ७ बजेदेखि १० र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाईने व्यवस्था गरिएको छ ।