२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

कामचलाउ सरकारको अवस्थालाई तत्काल अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै गठबन्धनको सरकार लागि प्रक्रिया सुरु गर्नुपर्ने थापाको टिप्पणी छ । कोभिडका कारण देशमा विकराल स्थिति उत्पन्न भएकाले कामचलाउ सरकारलको अन्त्य आवश्क रहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि सामाजिक सञ्जालमा लेख्दै थापाले अहिलेको अवस्थामा अन्योल र अस्थिरतालाई चाँडो अन्त्य गर्नुपर्ने बताउनुभयो । यद्यपि उहाँले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य निर्वाचनले मात्र गर्ने धारणा राख्नुभएको छ ।

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’

संविधानको धारा ७६ (२)मा बहुमत प्राप्त पार्टीले सरकार बनाउन नसकेको अवस्थामा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनसक्ने प्रावधान उल्लेख छ । यद्यपि अहिलेको सरकार पनि ७६ (२) कै भएकाले राष्ट्रपतिले धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नसक्ने सम्भावना छ ।

संविधानको धारा ७६ (३)मा धारा ७६ (२) बमोजिम बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेममा संसदको सबैभन्दा धेरै सांसद भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था छ । त्यो अनुसार पुनः केपी शर्मा ओली नै प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ ।