१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिन्धुमा संक्रमितको संख्या ४ सय २८ पुग्यो, ५ को मृत्यु, ८ जना निको भएर घर फर्किए


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १७ महिला र २१ पुरुषमा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीमा २८ जना, जुगलमा १, बलेफि १, बाह्रबिसे २, हेलम्बु १ र ठेगाना नखुलेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ४ सय २८ पुगेको छ ।

केही संक्रमितको पुन परीक्षण गरेकाले तथ्यांक डुप्लिकेशन भएको र पुनपरीक्षण गरेकाको संख्या घटाएकाले जिल्लामा संक्रमितको संख्या ४ सय २८ मात्रै भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिनुभयो ।

हाल ८ जना निको भएर घर फर्केका छन् । बाँकी होम आइसोलेसनमा र केही अस्पतालमा उपचाररत रहेका छन् ।

अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या दिन दिनै बढेको छ ।

चैत ३० गते दोस्रो लहरको पहिलो संक्रमित देखिएकोमा एक महिना पुग्दानपुग्दै ४ सय माथि संक्रमित पुग्नुले कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिएको पुष्टि भएको जनस्वास्थ्य अधिकृत चापागाईले बताउनुभयो ।

अहिले कोरोना संक्रमण बढेको देखिएपनि नयाँ वर्ष, राजनीतिक भेला, गोष्ठी, विवाह, धार्मिक सांस्कृतिक कार्यक्रमहरुले कोरोना समुदायस्तरमा यसअघि नै फैलिएको र अहिले रिजल्ट मात्रै देखिएको जनस्वास्थ्य अधिकृत चापागाईको भनाइ छ ।

यस्तै जिल्लामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालयसँग कोरोनाबाट निधन भएका २ जनाको मात्रै तथ्याकं भएपनि ५ जनाको मृत्यु भएको अनौपचारिक जानकारी आएको वरिष्ठ अधिकृत चापागाइले बताउनुभयो ।