१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस पदाधिकारी बैठक बस्दै, महन्थ ठाकुरलाई मनाउने मुख्य एजेण्डा


0
Shares

congress meeting

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ ।

मंगलबार दिउँसो ३ बजे देउवानिवास बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्न लागेको पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा विशेषपछि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई कसरी मनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने देउवानिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य विषय भनेको महन्थ ठाकुरजीहरूलाई राजी गराउनु हो ।’

आफूहरूको पहिलो पहलकदमी आफ्नो नेतृत्वमा सरकार बनाउनु हुने बताउँदै ती नेताले महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउन चाहेको खण्ड खुलस्त रूपमा आफ्ना कुरा राख्नुपर्ने तर्क गर्नुभयो ।

जसपाका महन्थ ठाकुर पक्षका नेताहरूलाई तटस्थमा मतदान गराउन भए पनि आफूहरू सफल भएको जिकिर गर्दै उहाँले अब ठाकुर पक्षका नेताहरूलाई लिखित सहमतिका लागि अनुरोध गरिने बताउनुभयो ।

पदाधिकारी बैठकपछि कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दैछ । छलफलमा नेकपामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही नेताहरू पनि सहभागी हुने स्रोतले जनाएको छ ।

सोमबार प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समयसीमा दिनुभएको छ ।

यसअघि पनि माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल, झलनाथ खनालसहितको बैठक बस्न लागेको थियो । तर, पार्टीमा छलफल नगरी एकलौटी ढङ्गले बैठक बोलाउन लागेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएपछि पदाधिकारी बैठक बोलाइएको हो ।