
काठमाडौं । कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा ‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्चालन गर्ने तयारी गरेको छ ।
केही दिन भित्रै सञ्चालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ । ८८ शय्याको सुरु गर्न लागिएको अक्सिजन थेरापी सेन्टर आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।
केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेसन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितहरूको उपचार गर्ने सोच बनाएको बताउनुभयो ।
सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको सहभागिता थियो । आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस्