
काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ (ध्वस्त) भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिनुभएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुख संग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गर्नुभएको हो ।
सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा शय्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेउ र मुटुका बिरामीलाई कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ । म अहिले पनि लिन सक्छु । तर, अर्को हस्पिटलले कोभिड मात्रै भएका बिरामीलाई जिम्मा लिइदिओस् ? तर कसैले पनि जिम्मा लिन सक्क्तैन अहिले । किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ ।’
उहाँले भप्नुभयो, ‘हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौ । स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपथ्र्यो । बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन । म दुखका साथ भन्छु ।’
अधिकारीले यो छलफल एक वर्ष अगाडि चलाउनुपर्ने बताउँदै वीर अस्पतालको नयाँ भवनमा अहिले वीर अस्पतालमा ५ सय शय्या सञ्चालन भइसक्नुपर्ने भनाइ राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘वीर अस्पताल ५ सय शय्याको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाजमर्नु अवस्था हो । हामी के हेरेर बसिरहेका छौ ? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन् । ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने । यसको जिम्मा कस्ले लिने ? यो मिटिङ १ बर्ष अगाडि सुरु गर्नु पर्थ्याे ।’
अधिकारीले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० बर्ष भन्दा माथिका लाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले वीर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौं ? कसैले उत्तर दिन सक्छ यो ? खै प्लानिङ ?’
सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । अधिकारीले सरकारले पनि कोभिड–१९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भए पनि महानगरले पहल गरेकोमा धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्