१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी सरकार गठन अन्योलमा, जनमोर्चामा इतिहास बनाउँदै ‍ह्विप उल्लंघन गर्ने थापा


0
Shares

प्रदीप पौडेल
पोखरा । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्न साथ दिन नहुने पक्षमा देखिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए ।

तर, त्यसमा राजमोका थापाले हस्ताक्षर गर्न मानेका छैनन् । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । थापाले हस्ताक्षर नगर्ने हो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सम्भव हुँदैन ।

संसदीय दलका नेता थापाले कांग्रेसको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो । उक्त जानकारी बरालले कांग्रेस र माओवादीलाई पनि गराएका छन् ।

वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिनुभएको थियो ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गर्नुभएको छ । तर, प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गर्नुभयो । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।

प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरूले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

विपक्षीलाई कारबाहीको आश
जनमोर्चाको संसदीय नेता कृष्ण थापाले कांग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर नगर्ने बताएपछि कांग्रेससहितका विपक्षी दललाई जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाही गर्ने आश बाँकी रहेको छ ।

‘जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाही गर्ने बारेमा हामी ढुक्क छौँ’, माओवादीका एक सांसदले बताउनुभयो ।

जनमोर्चाको सचेतक पियारी थापाले पनि ह्विप नमान्ने सांसद पार्टीले कारबाही गर्नसक्ने बताउनुभएको छ भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पनि पार्टी अनुशासन नमान्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । तर, कारबाही गर्न ढिला भएको खण्डमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार बन्ने निश्चित देखिन्छ ।

यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क हुनुहुन्छ । जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।