१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङका ग्रामीण क्षेत्रमा पनि फैलियो कोरोना संक्रमण


0
Shares

ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रमा समेत कोरोना संक्रमण फैलिएको छ । मंगलबार आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यी गाउँपालिकाहरू सदरमुकामबाट टाढाका अर्थात तमोर नदी पारीका हुन् । आठराई त्रिवेणीबाट ४८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने मेरिङ्देनका ५५ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

यस अघि संक्रमण पुष्टि भएकाहरू प्राय सदरमुकाम र आसपासका थिए । प्रजिअ पाण्डेका अनुसार फुङलिङ नगरपालिकाबाट पठाइएको १ सय ३५ र पाथीभरा याङ्वरक गाउँपालिकाबाट पठाईएको २० जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।

यसैबीच पछिल्लो २४ घण्टामा जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण गरिएका १२ जना मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । योसंगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १ सय ६० पुगेको छ । अस्पतालका अनुसार हाल आइसोलेसनमा पुराना ५ जना र नयाँ ३ जना उपचाररत रहेका छन् ।