अक्सिमिटरमा कालोबजारी गर्ने सात जना पक्राउ • Image Khabar Image Khabar


अक्सिमिटरमा कालोबजारी गर्ने सात जना पक्राउ


Imagekhabar
२९ बैशाख २०७८, बुधबार ०७:५९

अक्सिमिटरमा कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं । अक्सिमिटरमा कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया रहेका छन् ।

उनीहरू मंगलबार पक्राउ परेको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ ।

बजारमा ६ सय रूपैयाँमा पाउने अक्सिमिटर उनीहरूले दुई हजार दुई सय बीस रूपैयाँमा बिक्री गर्दै आएको पाइएपछि उनीहरू पक्राउ परेका हुन् । बिक्रि गरिएका सबै अक्सिमिटर कम गुणस्तरको भएको प्रहरीले जनाएको छ।

कम गुणस्तरका सात सय ६५ अक्सिमिटर बरामद भएका छन् । अक्सिमिटरले राम्रोसँग काम नगर्ने गरेको पाइयो । तर, मूल्य भने २२ सय रूपैयाँ लिएका रहेको प्रहरीले जनाएको छ ।

बरामद अक्सिमिटर आहा इन्डस्ट्रियल कम्पनीका कामदार विशाल आचार्यले न्युरोडमा रहेको डि एन्ड डि इन्टरप्राइजेजमार्फत ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले चीनबाट मास्कको तुना ल्याउने बाकसमा अक्सिमिटर लुकाई ल्याएका थिए । अक्सिमिटर ल्याउँदा न त भन्सार तिरिएको छ, न उत्पादक कम्पनी र मूल्य नै लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्