
काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाडौँ रेजर्ससंग खेल्ने छ ।
पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । यसअघि हिजो भएको प्रतियोगितको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै धनगढी फाइनलमा पुगेको छ ।
धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवन भने बाहिरिएका छन् ।
विजेताले ३५ लाख रुपैयाँ जित्ने प्रतियोगिताको फाइनल खेल जेठ १ गते शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्