
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै देखाउने दाबी गर्नुभएको छ ।
सपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यन्त्री गुरुङले प्रदेशमा अस्थिरता चाहनेहरुको खेल जारी रहे पनि आफूले ३० दिनभित्र विश्वासको मत लिएर देखाउने बताउनुभएको हो । एक दुई दिनपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने उहाँको भनाइ छ ।
विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्याउन दिएको समयसीमा ३ दिन बुधबार सकिएपछि प्रदेश प्रमुख स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेशको कोभिड कोषमा ४ करोड रुपैयाँ छुट्याउने बताउनुभयो ।
गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने प्रतिपक्षीको प्रयास असफल भएपछि गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्याउन सक्नुभएन ।
नेपालीको पक्षमा पक्षमा ३० जनाले हस्ताक्षर गरे पनि थापाले हस्ताक्षर गर्न नमान्दा उहाँको नेतृत्वमा सरकार बन्न नसकेको हो । बुधबार दिउँसो ४ बजेसम्म प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाइसक्नुपर्ने थियो । तर थापा बिहानै जन्मथलो बाग्लुङ गएपछि नेपालीको मुख्यमन्त्री बन्ने आकांक्षमा तुसारापात भएको हो ।
प्रतिक्रिया दिनुहोस्