१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारको निर्देशन


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ  ।

अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यो निर्देशन संगै अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ  ।

प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय गर्ने गौतमले बताउनुभयो ।

५ सयभन्दा बढी बेड भएका मेडिकल कलेजमा समेत अक्सिजन प्लान्ट छैन ।
उनीहरु अक्सिजन सिलिन्डरकै भरमा छन ।

पर्याप्त अक्सिजन नभएकै कारण निजी अस्पतालले गम्भीर प्रकृतिका कोरोना संक्रमित नलिने सूचना नै जारी गरेका छन् ।

सरकारले अक्सिजन दिन नसक्दा बिरामी भर्ना गर्न नसकिएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताउनुभयो ।

उपाध्यक्ष थापाले सरकारले तोकेको समयसीमाभित्र अक्सिजन प्लान्ट राख्न सम्भव नभएको बताउनुभयो ।

सय बेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा १ करोड ३० लाखभन्दा बढी रकम जोहो गर्न पनि समस्या पर्ने उहाँको भनाई छ ।