१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लकडाउनमा टेलिकमको अफर : अनलिमिटेड डाटा र रिचार्जमा बोनस


0
Shares

काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ को विषम परिस्थितिमा ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ ।

बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेर टेलिकमले वैशाख ३१ गतेदेखि १ महिनासम्म लागू हुने गरी अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने जनाएको छ ।

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ ।

दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय बाहेकमा डाटा चलाउँदा मुख्य ब्यालेन्सबाट रकम काटिने छ ।

यस्तै, टेलिकमले विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने छ । २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने छ । सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी ५०० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ ।