१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा कोभिडबाट माओवादी केन्द्रका नेतासहित एक घण्टामा तीन जनाको मृत्यु


0
Shares

बागलुङ । कोभिड–१९ को संक्रमणबाट बागलुङमा एक घण्टामा तीन जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक नेतासहित तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बागलुङमा कोभिडबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कोभिड भएर वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृत्यु भएको हो । उहाँ नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्थ्यो ।

ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको थियो । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राष्ट्रियका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिनु भएको थियो ।

अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

गल्कोटका ५२ वर्षीय पुरुष वैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षीय वृद्ध मंगलबार मात्रै अस्पताल भर्ना भएका थिए ।