
प्रज्ञा तिमल्सीना
काठमाडौं । निजी अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन नसक्ने जनाएका छन् । सरकारले १ सय शय्या भन्दा माथिका निजी तथा सामुदायिक अस्पतालहरूलाई आफ्नै अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएकोमा अस्पतालले बनाउन नसक्ने जनाएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने र त्यसको समन्वय मन्त्रालयले गर्ने जनाउनुभएको थियो । तर, निजी अस्पतालहरूले १५ दिन भित्र अक्सिजन प्लान्ट बनाउन सम्भव नै नभएको जनाएका छन् ।
निजी अस्पतालहरूको संघ (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सबै सामान र जनशक्ति बाहिरबाट आयात गर्नुपर्ने भएकाले तुरुन्तै अक्सिजन प्लान्ट बनाउन नसकिने बताउनुभयो । सामान्य समयमा पनि अक्सिजन प्लान्ट बनाउन ५ देखि ६ महिना लाग्ने बताउँदै थापाले सरकारले आधारमा निर्णय गरेको हो भन्दै सरकारप्रति प्रश्न गर्नुभयो ।
अस्पतालहरूमा अक्सिजनको माग निकै बढेको छ । सरकारी अस्पतालहरूले समेत अक्सिजन नभएका कारण नयाँ बिरामी भर्ना लिन छाडेका छन् । अक्सिजन उद्योगहरूले समेत अस्पतालले तुरुन्त अक्सिजन प्लान्ट बनाउन सम्भव नरहेको जनाएका छन् । जनतालाई राहत होस् भनेर निर्णय गरिएको भए पनि भनेको समयमा प्लान्ट बनाउन सजिलो नभएको उनीहरूको भनाइ छ ।
केही निजी अस्पतालमा भएको प्लान्टबाट सामान्य अवस्थाका लागि पुग्ने अक्सिजन उत्पादन हुने जानकारी दिँदै उपाध्यक्ष थापाले अहिलेको अवस्थामा त्यहाँको उत्पादनले धान्न नसक्ने बताउनुभयो । सरकारले आफूहरूसँगसल्लाह नै नगरी निर्णय गरेको गुनासो गर्दै उहाँले तत्काल प्लान्ट बनाउन सम्भव नभएको दोहोर्याउनुभयो ।
देशभर निजी क्षेत्रबाट सञ्चालित २५ वटा अक्सिजन उद्योग छन् । जसमा काठमाडौं उपत्यकाका बाहिर १७ र उपत्यकामा ८ वटा छन् । ति उद्योगबाट प्रति दिन ८ हजार सिलिण्डर उत्पादन हुन्छ तर अहिले देशभर १८ हजार भन्दा बढी सिलिण्डरको माग छ । आफैँ निजी उद्योगसँग निर्भर रहेको सरकारलाई थापाले अक्सिजन प्लान्ट बनाएर देखाउनु सरकारलाई चुनौती दिनुभयो ।
अक्सिजन अभावमा १४ कोभिड संक्रमितको मृत्यु भइसकेको छ । अक्सिजनको हाहाकार निजीदेखि सरकारी सबै अस्पतालमा देखिएको छ । अहिले भएका प्लान्टवाट उत्पादनलाई बढाउनुको साटो सरकार एक पछि अर्को निर्णय थोपार्ने ध्याउन्नमा छ ।
प्रतिक्रिया दिनुहोस्