१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरका अस्पतालमा एन्टिजेन किटको अभाव, परीक्षणका लागि तीन दिनसम्म कुर्नुपर्ने बाध्यता


0
Shares

दुर्गा उपाध्याय
कञ्चनपुर । कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै महाकाली अस्पतालले आकस्मिक कक्ष बाहिर अस्थायी रूपमा कोभिड इमर्जेन्सी वार्ड सञ्चालन गरेको छ ।

सामान्य ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएका बिरामीहरूलाई चिकित्सकले सोही वार्डमा सामान्य चेकजाँज गर्छन् । उनीहरूको अवस्थाका आधारमा एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र इमर्जेन्सीमा भर्ना गरिन्छ ।

पोजेटिभ रिपोर्ट आएकाहरूलाई भने कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिन्छ । तर, केहिदिन यता एन्टिजेट किटको अभाव हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू परीक्षणकै लागि अस्पताल परिसरमै कैयौं रात काट्नु परेको बिरामीहरूको गुनासो छ ।

महाकाली अस्पताललाई स्वास्थ्य कार्यालयले एन्टिजेन किट उपलब्ध गराउने गर्छ । तर, पछिल्लो समय स्वास्थ्य कार्यालयसँग नै प्रयाप्त किट नहुँदा न नाकामा प्रभावकारी रूपले स्वास्थ्य परीक्षण हुन सकेको न त, अस्पताललाई नै एन्टीजेन कीट उपलब्ध गराउन सकिएको छ ।

अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूमा कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिने गरेका छन् । जसले गर्दा परीक्षणविना आकस्मिक वार्डमा भर्ना गर्दा त्यसले अन्य बिरामीलाई समेत संक्रमण हुनसक्ने खतरा बढेको छ । फलस्वरूप बिरामीहरूलाई बाहिरै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द जोशीको भनाइ छ ।

महाकाली अस्पताललाई सरकारले प्रादेशिक अस्पताल घोषणा गरेको छ । अस्पताललाई प्राप्त हुने अन्य सेवासुविधा र उपकणहरू सरकारले सिधै दिने गरे पनि एन्टिजेन किट भने स्वास्थ्य कार्यालय मार्फत दिने व्यवस्था गरेको छ । जसले गर्दा किटको व्यवस्थापनमा समस्या भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारको गुनासो छ ।

नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सामग्रीको परिपूर्तिमा सरकारको ध्यान पुग्न सकिरहेको छैन । कोभिड महामारिको जटिल अवस्थामा बिलम्ब नगरी स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्न ध्यान सरकारको ध्यान जानु जरुरी छ ।