
काठमाडौं । स्वास्थ कार्यालय नुवाकोटले रसुवा र धादिङका स्वास्थ्य कार्यालय तथा स्थानीय पालिकालाई पत्र लेखेर स्वाब संकलन बन्द गर्न आग्रह गरेको छ ।
बुधबार पत्र लेख्दै स्वास्थ्य कार्यालय नुवाकोटले त्रिशुली अस्पतालमा कोभिड परीक्षणका लागि अत्यधिक मात्रामा स्वाब संकलन भएको र तिनको परीक्षण गर्न अझै केही दिन लाग्ने भएकाले बिहीबारदेखि स्वाब संकलन स्थगित गर्न आग्रह गरेको हो ।
कार्यालयले पत्रमा वैशाख ३० गतेदेखि एक सातासम्म अन्य वैकल्पिक उपाय अपनाउनसमेत आग्रह गरेको छ । जेठ ७ गतेबाट पुनः स्वाब संकलन र परीक्षण गरिने स्वास्थ्य कार्यालय नुवाकोटका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नुवाकोट, रसुवा र धादिङ जिल्लामा संकलन गरिएका स्वाबका नमुनाहरू नुवाकोटको त्रिशुली अस्पतालमा रहेको पीसीआर मेसिनमा परीक्षण हुँदै आएको छ । एक दिनमा अधिकतम १ सय ८८ जनाको परीक्षण गर्न सक्ने ल्याबमा ४ सयको हाराहारीमा नमुना आउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्