
चितवन । चितवनको भरतपुर महानगरपालिकाले १५ शय्याको आइसोलेसन तयार पारेको छ ।
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सहित १५ शय्याको आइसोलेसन तयार भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । आवश्यकताअनुसार आइसोलेसन थप्दै जाने उहाँको भनाइ छ ।
महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरूसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको दाहालले जानकारी दिनुभयो ।
महानगरपालिकाका ३ स्थानमा रहेका ४ वटा एम्बुलेन्सले कोभिडका बिरामीहरूलाई अस्पतालसम्म लैजान निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरले शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ ।
आइसोलेसनमा रहेका २ मेडिकल अधिकृत, नर्स तथा दक्ष प्राविधिकहरूले कोभिडका संक्रमितलाई एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा निःशुल्क उपलब्ध गराउने नगरप्रमुख दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्