
काठमाडौं । राजधानीमा जारी पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्स भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।
यसअघिका दुवै खेलमा धनगढी विजयी भएको थियो । लिग चरणमा ३–० ले जितेको धनगढीले पहिलो क्वालिफायर्समा २–० को जित निकालेको थियो । यता ललितपुरले भने २४ घण्टाको अन्तरमा दोस्रो खेल खेल्नु परेपछि खेलाडीहरुले निरीह एवं थकित प्रदर्शन गरेका थिए ।
काठमाडौंलाई जिताउन मसुकेले २ तथा बिनोङ्गले १ गोल गरे । हिजो इलिमिनेटर खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो । सात टोलीले सहभागीता जनाएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । धनगढी र काठमाडौंबीचको विजेताले उपाधिसहित ३५ लाख रुपैयाँ जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्