
झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।
झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो ।
तर, कोभिडका विरामी जिल्लामा बढेको र मृत्यु दर समेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ सात गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बिहान ८ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय विहिवार वसेको बैठकले गरेको छ ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्