
म्याग्दी । जलविद्युतको हब भनेर चिनिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
निजी क्षेत्रको लागानीमा निर्माण भएको सो आयोजनाबाट उत्पादित विद्युत १५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भएपछि व्यवसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।
माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो ।
मिस्ट्रीखोला खोला जलबिद्युत् आयोजनाका आवासीय इञ्जिनियर दिवाकर शाहका अनुसार १४÷१४ मेगावाटका तीनवटै युनिटबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।
माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ ।
स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना रहेको कम्पनीले दावी गरेको छ ।
आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।
उक्त आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।
२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघिनै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्