
बाजुरा । बाजुरामा शव वाहन नहुँदा काेभिडबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रु बोक्ने जिपमा बोकेर लैजान गरिएकाे छ । जिल्लाभरी शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हाे । केही दिन अघि नगरपालिको यात्रु बोक्ने जिप भाडामा लिएपछि अहिले त्यहि जिपले शव घाटसम्म पुयाउने गरेको छ ।
बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु परेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ । जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा. प्रकाश जोशी गत आर्थिक वर्षमा एम्बुलेन्स र शव वाहन खरिदका रकम आए पनि खरिद गर्न नसक्दा रकम फिर्ता भएकाे बताउनुहुन्छ ।
यो वर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको जानकारी दिँदै जाेशाीले खरिदकाे प्रक्रियामा रहेकाे बताउनुभयाे । खरिदका लागि प्रदेश सरकारले १५–१५ लाख रुपैयाँ रकम अस्पताललाई पठाएकाे छ । प्रक्रियामै रहेकाले अस्पतालमा आइपुग्न एक/दुई महिना लाग्ने जाेशीकाे भनाइ छ । आएको बजेट कार्यान्वयन गर्न नसकेकाे भन्दै अस्पतालप्रति स्थानीय सरकार र जनताले कडा आलाेचना गरेका छन् ।
काेभिडबाट मृत्यु भएका मृतकका आफन्तले फोहोर बोक्ने गाडिमा शव लैजाँदा आफूहरूलाई निकै पीडा महसुस हुने बताउँछन् । जिउँदैमा उपचार गर्न नसकेकाे सरकारले कम्तिमा मरेपछि त सम्मानपूर्वक लैजानुपर्ने उनीहरूकाे भनाइ छ । एम्बुलेन्सकाे अभावले काेभिड संक्रमितलाई घरबाट उपचारका लागि जिल्ला अस्पतालमा जान र थप उपचारका लागि जिल्ला बाहिर लैजान समस्या हुने गरेकाे स्थानीय बताउँछन् ।
अन्य बिरामीलाई त निजी जिपहरूले बाेक्ने गरेकाे भए पनि काेभिडका बिरामीका लागि भने गाडि नपाइने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताउनुभयो । संक्रमित बाेक्न बडिमालिका नगरपालिकाले अहिले निजी जिप भाडामा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्