
रसुवा । हिमाली जिल्ला रसुवामा कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य रोकिएसंगै बिरामीहरु अन्यौलमा परेका छन ।
त्रिशुली अस्पताल नुवाकोटले कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य बन्द गरेसँगै लक्षण देखिएका बिरामी तथा होम आईसोलेसनमा बसेकाको समेत कोरोना परिक्षण हुन नसकेको ग्रामिण अस्पताल जिबजिबेले जनाएको छ ।
कोभिड १९ परिक्षणको स्वाब अत्यधिक मात्रामा संकलन भएको र संकलित स्वाबको परिक्षण गर्न समय लाग्ने भन्दै त्रिशुली अस्पताल नुवाकोटले एक साता स्वाब संकलन बन्द गरेको जानकारी गराएसँगै जिल्लामा कोरोना परिक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
जिल्लामा रसुवा अस्पताल धुन्चे, ग्रामिण अस्पताल जिबजिबे र स्थानिय तहहरुले कोरोना परिक्षणका लागि स्वाब संकलन गरि परिक्षणका लागि त्रिशुली अस्पताल पठाउने गर्दै आएका छन । पिसिआर परिक्षण गर्न नपाउदा समस्या भएको रसुवा अस्पतालले जनाएको छ ।
रसुवा अस्पताल तथा जिबजिबे ग्रामिण अस्पताल दुबैमा कोरोना परिक्षण गर्ने मेसिन नभएकाले तत्काल पिसिआर मेसिन उपलब्ध गराई जिल्लामै कोरोना परिक्षण गर्ने ब्यबस्था गरि दिन स्थानीयहरुले सरकारसंग माग गरेका छन ।
जिल्लामा हाल १ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्ये ९ जना संस्थागत आइसोलेसन र १७७ जना होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्