
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाइ अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेतृ संग्रौलाले शनिबार प्रेस विज्ञप्ति जारी गदै कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरु उठाउन पनि माग गर्नुभएको हो । उहाँले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशनको आह्वान गर्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।
‘जनस्वास्थ्य विज्ञको सुझावलाई मनन गर्ने हो भने अहिले जुन हिसावमा भाइरसको प्रसार भैरहेको छ त्यो प्रसारको दर कम गर्ने सबैभन्दा प्रभावकारी उपाय लकडाउन नै हो’, विज्ञप्तिमा भनिएकाे छ, ‘तर विगतको लकडाउनको बेलाको हाम्रो आफ्नै अनुभव र विश्वव्यापी अनुभव के हो भने लकडाउनको नकारात्मक प्रभाव गरिव र असहाय वर्गलाई सबैभन्दा बढी पर्दछ।’
नागिरककाे जीवन रक्षा गर्नबाट सरकार गत वर्ष चुकेको थियो र अहिले पनि उदासीन रहेकाे देखिएकाले न्यून आय भएका सर्व साधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन तथा तीनै तहका सरकारहरुको जिम्मेवारी सुनिस्चित गर्न विज्ञप्तिमा भनिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्