
काठमाडौं । चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ ।
नेपालतर्फको आधार शिविरमा कोभिड सङ्क्रमण फैलिएको खबरपछि शिखरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरूलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो ।
मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संरचनाको सम्भावना कम भएको तथा चीन वा नेपालतर्फको मोहोडाबाट जाने आरोहीहरू सजिलै भेट हुने भएकोले सीमारेखा असम्भव रहेको आरोहीहरूले बताएका थिए । चासोका बीच चीनले आरोहीबाट कोरोना सर्न सक्ने भन्दै आफ्नो तर्फबाट हुने सबै आरोहण नै रद्द गरेको समाचारमा उल्लेख छ ।
आरोहण रद्द गरेसँग चीनतर्फबाट सगरमाथा आरोहणका लागि माथिल्लो शिविरमा पुगिसकेकाहरू पनि फिर्ता भएका छन् । चीनले यो वर्ष विदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको थिएन । आरोहणका लागि ३८ जना चिनियाँ नागरिकले अनुमति लिएका थिए ।
नेपालले भने जोखिमकैबीच पनि विदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विदेशी र नेपाली नागरिक गरी चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अहिलेसम्म आरोहण अनुमति लिएका र उनीहरूका सहयोगी समेत गरी एक सय ७० जना भन्दा धेरैले आरोहण गरिसकेका छन् ।
अहिले आरोहणका लागि मौसम अनुकूल नरहेकोले आरोहीहरू अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आरोहण वा आरोहीका सहयोगका लागि सगरमाथा आधार शिविरमा गएकामध्ये अहिलेसम्म कम्तीमा १८ जनामा कोभिड पुष्टि भइसकेको छ । सरकारले भने सगरमाथामा अवस्था सामान्य रहेको भन्दै जोखिम नभएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्