
मीरा बस्नेत
काठमाडौं । अक्सिजन अभावका कारण हरेक दिन सयौँ कोभिड संक्रमितको मृत्यु भइरहेको छ । काठमाडौंकै सरकारी अस्पतालमा शय्या अभावका कारण आँगनमा ओछ्यान लगाएर उपचार भइरहेको छ । निजी अस्पतालहरूले अक्सिजन अभावमा बिरामी भर्ना गर्न छाडिसके ।
तर, देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली भने अस्पतालमा शय्या अभाव नभएको र कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी भएको रट लगाउन छाड्नुभएको छैन ।
हुन त बालुवाटारको सीसाको क्याबिनमा बस्ने प्रधानमन्त्री लाई के थाहा अस्पतालमा कोरोना संक्रमित र तिनका आफन्तले भोगेका पीडा । देशको कार्यकारी प्रमुखको ओहदामा रहेका प्रधानमन्त्रीको यस्ता अभिव्यक्ति गैरजिम्मेदार देखिएका छन् ।
मुलुक कोरोना महामारी विकराल बन्दै जाँदा अस्पतालहरू कोभिड संक्रमितले भरिएका छन् । अस्पतालभित्रका शय्या खालि नभएपछि बिरामी अस्पतालकै प्राङगणमा उपचार गराउन बाध्य छन् । केहीले प्राङ्गणमै भए पनि शय्या पाएका छन् भने अधिकांश भुईं, बेन्च र कुर्सीमा बसेर उपचार गराइरहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी बाहिर रहेका सबै बिरामीहरू गम्भीर प्रकृतिका छन् । यी अधिकांश बिरामीहरूले अक्सीनजनकै साहयतामा श्वास फेरिरहेका छन् । अहिले सबै सरकारी कोभिड अस्पतालहरूको अवस्था यस्तै कहालीलाग्दो छ ।
अस्पतालमा बिरामी कुर्न बसेका बिरामीका आफन्तहरूलाई सरकारको अभिव्यक्तिले थप पीडा दिएको छ । सरकारले अस्पतालको अवस्था नदेखे झैँ गरेर गैरजिम्मेदार बनेकोप्रति उनीहरूले चर्को आक्रोश पोखेका छन् ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल हुनुभएका प्रधानमन्त्री ओली फेरि सरकारको बागडोर सम्हाल्न पुग्नुभएको छ । संक्रमण नियन्त्रणमा सरकारले गत वर्ष केही चासो देखाए पनि यसपटक भने प्रधानमन्त्रीको प्राथमिकतामा नै नपरेको जनस्वास्थ्यविद्हरूको ठहर छ ।
संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्व तयारीको लागि सरकारसँग प्रशस्त समय थियो । तर, सरकारले बेवास्ता गर्दा नै नेपालले अहिलेको अवस्था सामना गर्नुपरेको विज्ञहरूको आरोप छ । सरकार अझै पनि यसप्रति गम्भीर भएको पाइँदैन । सरकारले यसलाई गम्भीरतापूर्वक नलिने हो भने नेपालले अझै भयावह अवस्था सामना गर्नुपर्ने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्