
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ ।
प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
कल्याणकारी कोषको सञ्चालन अध्यक्ष नाराण शर्मा नेतृत्वकै कार्यसमितिले गर्नेछ । महासचिव सुवेदीको नेतृत्वमा सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ बनेको छ ।
बैठकले कोभिड संक्रमण भएर उपचारको क्रममा निधन भएका पत्रकार गणेश पौडेल प्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेर मात्र कर्म क्षेत्रमा खटिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्