
एलबी विश्वकर्मा
काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको वार्ता सौहार्दपूर्ण भएपछि विवाद समाधान हुने विश्वास गरिएको छ ।
आन्तरिक विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार भएपछि नयाँ कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलले सबै समस्या निमिट्यान्न पार्ने नेता सुरेन्द्र पाण्डेको दावी छ ।
एमालेभित्र विवादको रस्साकस्सीको कडी झांगिदै जाँदा समानान्तर कमिटी गठन गर्नेसम्मका गतिविधि भएका थिए । एकअर्कालाई कारबाही समेत गरियो । अन्ततः सबै विवाद एकैचोटी सकिएको घोषणा र नेपाल पक्षको मौनताले विदेशी चलखेलमा पार्टी एक भएको भन्ने आरोपलाई बल पुगेको छ । तर, नेताहरूले भने जनहितका लागि सहमति भएको दावी गर्दै आइएका छन् ।
विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पूर्ण समर्थन प्राप्त सरकार गठन गर्न नसक्दा ओलीले नाफामा प्रधानमन्त्री पद पाउनुभएको हो । यसको सदुपयोग कसरी गर्नुहुन्छ हेर्न बाँकी छ । तर, राजनीतिक विश्लेषकहरू पुरञ्जन आचार्य र श्याम श्रेष्ठ भने ओलीले जनमैत्री काम गर्नेमा ढुक्क हुन नसकिने तर्क गर्छन् ।
नयाँ सरकार गठनसँगै जनता समाजवादी पार्टीमा समेत विवाद चुलिएको छ । सत्तावृत्तमा रहेका अन्य दलहरू समेत आन्तरिक किचलोका कारण संकटमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्