१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना रोक्न आग्रह गर्दै जाजरकोटमा देवीलाई बलि


0
Shares

जाजरकोट । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ ।

शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो ।

नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।”

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ ।

शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताउनुभयो

मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताउनुभयो ।

पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उहाँले बताउनुभयो ।

गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।