
बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वरका ३० वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट रहेका छन् ।
उनीहरु दुबैजनालाई सुर्नया गाउँपालिका ६ शंकरपुरबाट मोटरसाईकलमा सुर्नया ५ तर्फ आउँदै गरेको बेला सुर्नया ५ रौलेश्वरमा रौलेश्वर प्रहरीचौकीको टोलीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा सवारी उनीहरुबाट ७ सय ग्राम चरेश भेटिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
सु प प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा गइरहेका बेला दिउँसो १ बजेको समयमा प्रहरी टोलीले चेकजाँच गर्दा सुरेश विष्टको झोलाबाट ७ सय ग्राम चरेश बरामद गरिएको हो ।
बरामद गरिएको चरेश, मोटरसाइकल र दुबैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।
निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्