१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरीमा १ सय २६ जना अट्ने आइसोलेसन स्थापना, भारतीय राजदूतद्वारा उद्घाटन


0
Shares

काठमाडौं । कमलपोखरीस्थित अग्रवाल भवनमा १ सय २६ जनासम्म राख्न सकिनेगरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रूपमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले उद्घाटन गर्नुभएको हो ।

आइसोलेसन उद्घाटन गर्दै राजदुत क्वात्राले कोभिड–१९ को महामारी दक्षिण एसियामा तीव्र रूपमा फैलिएको भन्दै महामारीविरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभयो । क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रूपले सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ भने ८–१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर पनि आउनेछ ।’

उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सैयौं परिवारको जीवन रक्षा गर्न सकिने बताउनुभयो । आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाइएको छ ।