१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देवचुलीमा कोभिड बिरामीका लागि युवाको पहल, प्रतिष्ठान बनाएर अक्सिजन बैंक स्थापना


26
Shares

विवेक भण्डारी
नवलपुर । देवचुली नगरपालिकाका युवाहरू कोभिडका बिरामीहरूका लागि आवश्यक पर्ने स्वास्थ्य साम्रग्री जुटाउने अभियानमा लागेका छन् । कोभिड संक्रमण बढ्दै गएका बेला संक्रमितलाई आवश्यक पर्ने अक्सिजनको अभाव भइरहेको छ ।

अक्सिजन अभावको यो अवस्थामा सहज र छिटो अक्सिजन उपलब्ध गराउन युवाहरूले विभिन्न संघ संस्थाहरूसँग आर्थिक सहयोग संकलन गरी ‘अक्सिजन बैंक’ स्थापना गरेका छन् । युवाहरूले ‘खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान’ गठन गरेर अक्सिजन बैंक सञ्चालनमा लागेका हुन् । युवाहरूले नै कोभिडका जटिल बिरामीलाई बचाउन एकजुट भएर लाग्नुपर्छ भन्ने उदेश्यले बैंक स्थापना गरिएको प्रतिष्ठानका संयोजक बसन्त पोख्रेल बताउनुहुन्छ ।

बसन्त मात्र होइन नगरपालिकाका धेरै युवाहरू बैंक स्थापनामा लागेका छन् । प्रतिष्ठानले अहिले बैंक स्थापनाका लागि ग्यारेज तथा वर्कशपमा रहेका सिलिन्डर संकलन गर्दै अक्सिजन भरेर आवश्यक पर्ने स्थानमा दिँदै आएको छ । पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।

स्थानीय तहमा युवाहरू सक्रिय हुँदा नगरपालिकालाई सहज भएको छ । अक्सिजनको समस्याको विषयमा टाउको दुखाउन नपर्दा पालिकाले संक्रमितका अन्य समस्यामा ध्यान दिन पाएको छ । युवाहरू संक्रिय हुँदा पालिकालाई सहज भएको देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ बताउनुहुन्छ । स्थानीय युवाहरूको सक्रियता भएको खण्डमा पालिकाहरूले सजिलै कोभिडको सामना गर्न सक्ने उहाँको भनाइ छ ।

देवचुलीमा झैँ देशका अन्य स्थानीय तहका युवाहरूले पनि विषम् परिस्थितिमा सहयोग गरे देशका सम्पूर्ण पालिकाले आइपरेका दैवी, प्राकृतिक र स्वास्थ्य विपत्तिको सहजै सामना गर्न सकिन्थ्यो कि ?