
इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् ।
इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधी र परामर्श दिदाँ आफूलाई कोरोनाबिरुद्ध लड्न आत्मबल पुगेको बताउनुभयो ।
नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ ।
संक्रमित पत्रकार भट्टराईलले भने, ‘हौसला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भनेपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’
प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा.अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधी विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको छ ।
यसपटक दोस्रो चरणको भेरियन्ट आइकन पनि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
‘हामीले संक्रमित पत्रकारहरुलाई हौशला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’
डा.अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौशला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताउनुभयो ।
सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्का लगायत आधा दर्जन बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्