
विराज रोस्यारा
कैलाली । कोरोना महामारीका कारण मुलुकमा अक्सिजनको माग बढिरहेको छ ।
धनगढीमा एक सिलिन्डर अक्सिजन पाए २/३ घन्टा बिरामी बचाउन सकिन्थ्यो कि भनेर बिरामीका आफन्त सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा धाइरहेका छन् ।
जति अक्सिजनका लागि हार गुहार गरे पनि अन्तमा अक्सिजन अभावमै दिनहुँ सयौँको ज्यान गइरहेको छ ।
थोरै भए पनि अक्सिजन पाए बिरामी एक घण्टा अँझै बाँच्ला कि भनेर बिरामीका आफन्त अक्सिजनकै लागि लाइनमा छन् ।
एकातिर बिरामी पीडाले छट्पटाइ रहेका छन् भने अर्कोतर्फ आफन्त अक्सिजन सिलिन्डर नपाएर छट्पटिइ रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पताल हो सेती प्रादेशिक अस्पताल ।
सुदूरपश्चिमका अन्य ८ जिल्लामा उपचार सम्भव नभएपछि सेती अस्पतालमै बिरामी पुग्छन् ।
प्रदेशको मुख्य शहर धनगढीमा अहिले दैनिक संक्रमण बढिरहेको छ र दैनिक अक्सिजन आवश्यक पर्ने बिरामी पनि थपिँदै छन् ।
बिरामीहरु अक्सिजन नपाएर मृत्यु वरण गरिरहेका छन् । सेती अस्पतालमै रहेको अक्सिजन प्लान्टमा बिरामीका आफन्त अक्सिजन माग्दै पालो कुरिरहेका हुन्छन् ।
अक्सिजनका लागि घण्टौँ लाइनमा बस्नुपर्दा इमर्जेन्सी बिरामीलाई बचाउनै मुश्किल छ ।
धनगढीस्थित मालिका अक्सिजन ग्याँस उद्योग र सेती अस्पतालकै अक्सिजन प्लान्टले यहाँका बिरामीका लागि अक्सिजन पुर्ती गर्न नसकेपछि नेपालगञ्जबाट ग्याँस आपुर्ती गरिँदैछ ।
तर पनि अक्सिजन पुगिरहेको छैन । एक सिलिन्डर अक्सिजन पाएकाहरुलाई दोश्रो सिलिन्डर पाउने आश छैन ।
अक्सिजन नपाएकै कारण धनगढीमा मात्रै दैनिक ६/७ जनाको ज्यान गइरहेको छ ।
धनगढीस्थित मालिका अक्सिजन उद्योगमा पनि पटक/पटक समस्या आउने गरेको छ ।
अक्सिजन उद्योगमा समस्या आए अस्पतालका बिरामीहरुसंग अर्को विकल्पनै छैन ।
अक्सिजन अभावमा दिनहुँ बिरामीको ज्यान गइरहँदा नेताहरुका भने आश्वासन मात्रै आउँछन् ।
आश्वासन मात्रै दिएर हजारौँ जनता मरेको हेर्ने वा सरकारको अनुभुति पनि गराउने सरकार जिम्मेवार बन्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्