१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमरेड पशुपति चौलागाईंप्रति शब्द श्रद्धाञ्जली !


403
Shares

सञ्जिव कार्की

पशुपति चौलागाईंको विशेषता कम्युनिस्टसँग हुने विशेषता थियो । उनी विपक्षी नेताकार्यकर्तालाई पनि उत्तिकै सम्मान आदर र स्नेह गर्थे । आधारभूत जनताको तहबाट उठेका चौलागाईं साँचो अर्थमा जनताका नेता थिए । जनपक्षीय कम्युनिस्ट थिए  । कम्युनिस्ट चरित्र र आचरण धेरै कम्युनिस्ट नामधारी नेताकार्यकर्तासँग छैन तर दोलखाका यी नेतासँग त्यो बाँकी थियो जसको कारण उनको दुखान्त वियोगमा प्रायः दोलखाली शोकमग्न छन् भने देश एक होनहार कम्युनिस्ट नेताको मृत्युु वियोगमा दुखेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले जनताको माझमा भिजेको र देसले नै गर्व गर्न लायक एक नेता गुमाएकोमा भावविविहल छ ।

अर्ग्यानिक कम्युनिस्ट नेता पूर्व सांसद इन्द्रबहादुर खडका कम्युनिस्टहरुले आधारभूत चरित्र गुमाउँदै गएको स्थितिमा कम्युनिस्ट चरित्र र आचरणमा प्रतिबद्ध नेता सरल स्पष्टवक्ता र प्रखर भासण कलाका धनी,इमानी व्यक्तिको रुपमा सम्झन्छन् पशुपतिलाई  । कम्युनिस्ट सिद्धान्तका जब्बर अनुयायी त होइनन् तर कम्युनिस्ट चरित्र जिवितै राख्नुपर्छ भन्ने नेता हुन । आदर्श र स्वार्थको खिचातानीमा स्वार्थको जित हुँदा पशुपति चौलागाईं जस्ता नेताको भागमा मन्त्री पद नपरेको अनुभव छ धेरैको । यद्यपि पशुपति असन्तोष र आग्रह राख्ने खालका मान्छे थिएनन् ।

नेपाली काङ्ग्रेसका पूर्व सभापति उद्दवराज काफ्ले स्वर्गीय चौलागाईंलाई भीम बहादुर तामाङ पछिको दोलखा जिल्लाको सर्वस्विकार्य नेताको रुपमा मान्छन । पशुपतिको सरलता भद्रता र उदार प्रजातान्त्रिक छवि संधै स्मरण योग्य रहेको काफ्लेको बुझाई  छ । राजनीतिमा नैतिकता उच्च रहनुपर्छ र विपक्षीप्रति पनि उत्तिकै आदार भाव प्रकट गर्नुपर्छ भन्ने चौलागाईंले संसदीय प्रतिस्पर्धामा आफूसँग पराजित स्वर्गीय भीमबहादुर बारे गरेको टिप्पणी धेरैले रूचि र उत्साह पूर्वक प्रयोग गरेको पाइन्छ । “उनी भन्थे भीम बहादुर दाइ जस्तो मान्छेसँग प्रतिस्पर्धा गर्ने मेरो व्यक्तित्व बनिसकेको छैन तर पार्टी संगठनको कारण मैले विजय प्राप्त गरे । उहाँसँग प्रतिस्पर्धा गर्न पाउँदा मलाई गर्व छ । शायद यसरी आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टीको नेतालाई खुलेर प्रशंसा गर्ने नेता र पात्र दुर्लभ हुन्छन् तसर्थ पनि राजनीतिमा छुट्टै पहिचान बोक्ने र बनाउने नेताको रूपमा पशुपति चौलागाईंलाई सम्झिने छ आगामी पुस्ताले पनि ।

निष्ठा पूर्वक राजनीतिलाई प्रयोग गरेर समाजको सेवा मान्ने पशुपति दोलखाली जनताका प्रिय नेता थिए । अति सामान्य परिवारमा जन्मेका र गरिबीको जाँतोले पिसिएको कारण कुनै समय स्कुलको फिस तिर्न नसकेर स्कुल छोडेको र ईन्डिया जान १५० जोहो गर्न्न नसकेको कारण लाहुरे हुने, सिक्किम गएर पैसा कमाउने सपना तुहिएको सन्समरण छ उनका सहपाठी बालसखा दाहालको । जनताप्रति बफादार र कर्तव्यपरायण सालिन नेताको रूपमा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोख्रेलको मुल्यांकन छ । गरिबी अभाव र कठिनतासँग जुधेर अनेकौं संघर्षबाट खारिएका नेता पशुपति चौलागाईं अन्ततः कोरोनासँगको संघर्षमा पराजित बने र ६२ वर्षको उमेरमा नै अनन्त यात्रामा निस्किए ।

एमालेको शसक्त युवा सँघ, प्र रायु संघको केन्द्रिय अध्यक्ष भएर नेतृत्व गरेका चौलागाईंले आफ्नो व्यक्तित्व र नेतृत्व क्षमता देशमा फैलाएको र चिनाउने अवसर पाएको कारण नै नेकपा एमालेको पोलिटब्युरो सदस्य हुने अवसर पाएका थिए । एकपटक प्रत्यक्ष चुनाव लडेर संसदमा दोलखाबाट प्रतिनिधित्व गरेका चौलागाईं समानुपातिक संसद बनेर पनि आफ्नो भुमिकाले गणना योग्य संसदको रूपमा देशमा स्थापित थिए  । पछिल्लोपटक २०७४को चुनावमा प्रदेश सभा ख दोलखाबाट निर्वाचित संसद बागमती परदेशको मुख्य मन्त्रीको दावेदार थिए ।

तर निष्ठा र मुल्यमा सम्झौता गर्न नचाहने चौलागाईंलाई पार्टीको आन्तरिक किचलो र अस्वस्थ प्रतिस्पर्धाका कारण सो पद हात लागेन । दुई दुई पटक संसद र पून प्रदेश सभाको सदस्य बनेर पदको लोभ गरेको र नयाँ पुस्तालाई स्थान दिन कन्जुस्याइँ गरेको भनेर मैले यिनको बारेमा खरो आलोचना र तीखो टिप्पणी  सार्वजनिक सन्चार माध्यमबाट गरेको थिए । मेरो टिप्पणी उनले हेरेको र केही चै आफूलाई सोच्न बाध्य भएको कुरा एक जम्का भेटमा भनेका थिए । हाम्रा बारे टिप्पणी गरिरहनु है अन्यथा छैन तर टिप्पणी र आलोचना सकारात्मकताको लागि हुनुपर्छ ।  आलोचना सहने र आलोचकलाई सुन्ने बानी भएको नेताको रूपमा उनलाई लिन सकिन्छ ।

प्रसंसा र आफ्नो खेमा र समर्थनमा लेख्ने बोल्ने र प्यादा बन्नेलाई मात्रै प्रश्रय दिने नेताकार्यकर्ताको भिडमा पशुपतिको स्वभाव अलि पृथक थियो । उनी बिरोधि स्वर र आलोचनाको स्थानलाई मान्यता दिनुपर्छ र सुन्नुपर्छ भन्ने उदार प्रजातान्त्रिक सोचका धनी व्यक्ति थिए । २०५६को संसदीय चुनावको बेला पशुपति चौलागाईंले यो पंक्तिकारलाई पनि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । मैले आफूले सहयोग गर्न नसक्ने तर व्यक्तिको रूपमा तपाईंप्रति सम्मान गर्छु भनेको थिए । उनले मलाई भोट नदिनुस, दिन्न भन्नू भयो म अन्यथा लिन्न तर मेरा प्रतिस्पर्धामा रहेका भीम बहादुर दाइको गृह गाउँमा उहाँको प्रजातान्त्रिक छवि धमिलो हुनेगरी बूथ क्यापचर चै नगर्नु है भाइ । स्वतन्त्र चुनाव हुन दिनुहोस् भन्नू भएको थियो ।  स्वतन्त्र निस्पक्ष र भय रहित चुनाव र प्रजातन्त्रको वकालत गर्ने दुई निष्ठाका योद्धाहरु चुनाव लडने ठाँउमा नै पार्टीहरुले आ आफ्नो ल्याकत पुग्ने ठाँउमा बूथ कब्जा गरेर मत खसाले । हामीले पनि आफ्नो ठाँउमा निरंकुशता प्रदर्शन गर्यौ भने उहाँहरुले पनि त्यसै गर्नु भयो तर चुनाव पशुपति चौलागाईंले जित्नु भयो ।

चुनाव जितेपछि मेरो एक भेट्मा एकअर्काले वचन उलंघन गरेको कुरा गर्यौ । उहाँ यस्तो परिपाटी जसले गरे पनि ठिक होइन हामी प्रजातान्त्रिक अभ्यासको निष्ठामा चुकेका छौं भनेर स्वीकार गर्नु हुन्थ्यो । उनले २०५६ मा दोलखा क्षेत्र नं १ को सांसद, २०७० मा समानुपातिक सांसद र २०७४मा प्रदेश सभा संसद सदस्य भएर दोलखा बिकासमा गरेका थुप्रै कार्यहरु र शिक्षा अनि सहकारी प्रवर्द्धन र विकासमा गरेका उल्लेखनीय कार्यहरूको कारण दोलखाली जनताले सदैव स्मरण गरिरहन्छन् ।  पन्चायती व्यवस्थामा कम्युनिस्ट हुनु आफैमा गार्हो काम हो, झन असल कम्युनिस्ट हुनु र आचरण शैली व्यबहारमा कम्युनिस्ट दर्ज हुनु झन कठिन काम हो यही कठिन र विशेष चरित्र निर्वाह गरेका कारण पशुपति चौलागाईं पार्टी इतरमा पनि लोकपृय र सम्मानित नेताको परिचय छोडेर गए ।

२०३५/०३६ मा राजनीतिक रूपमा सक्रिय चौलागाईं शिक्षक भएर पनि सेवा गरेका व्यक्ति हुन । तर २०४६ पछि शिक्षण सेवा छोडेर होलटाइमर राजनीतिलाई आफ्नो क्षेत्र बनाएर अहोरात्र जनता र पार्टीको लागि काम गर्दै रहे । २०१६ सालमा दोलखाको काब्रेमा जन्मेका पशुपति चौलागाईं २०७८ बैशाख २८ गते कोरोना संक्रमणमा परेर बिते । आफू समेत साधरण शेयर होल्डर रहेको मनमोहन अस्पतालमा उपचार गराए पनि उनको मृत्युुमा अस्पतालको कम प्राथमिकता लापरबाही रहेको हुन सक्ने उनका भाइ हेमन्त चौलागाईंको आशंका रहेको छ । क पसुपती चौलागाईंको मृत्युुको वास्तविक कारण खोजिने छ हेमन्तको फेस बूकमा उल्लेख छ । 

२०७८ बैशाख दोलखाली जनताको लागि र समग्र प्रजातान्त्रिक मुल्य र निष्ठाको राजनीति गर्नेहरुको दुखको र शोकको महिना बन्यो । काङ्ग्रेस नेता देवीप्रसाद न्यौपाने र नेकपा एमाले नेता जो दुवै मुल्य र आदर्शको राजनीतिमा चर्चित थिए यी दुवैलाई बैशाख महीना भित्र गुमाउनु पर्यो । आज पशुपति चौलागाईंको निधनको नवौ तिथि हार्दिक र भाव पूर्ण श्रद्धाञ्जली पशुपति दाइ !  परिवारजन र शोकाकुल एमालेमा गहिरो समवेदना ! कोरोनाको कारण आफ्ना प्रिय नेतालाई अन्तिम बिदाइ गर्न नपाउनुको दुख आम दोलखालीलाई पछिसम्म खडकि रहनेछ ।