१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेनी–जोमसोम–कोरला सडक धमाधम कालोपत्रे हुँदै


0
Shares

म्याग्दी । कोभिड संक्रमणको जोखिममा पनि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नम्बर १ बेगखोला जोड्ने सडक आइतबार देखि कालोपत्रे सुरु भएको हो ।

गत वर्षनै कालोपत्रे गर्ने तयारी भए पनि कोभिड र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि पुनः सुरु भएको हो । बर्खामा कटान र पहिरोले धेरै क्षति पुर्याएको सडक खण्डको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कालोपत्रे गर्न प्राइम (बिटुमिन) बिछ्याउन सुरु गरेको हो ।

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटो देखि गलेश्वर तर्फ प्राइम कोड हालेर कालोपत्रेको काम सुरु गरेको जानकारी दिनुभयो । मौसमले साथ दिएमा गलेश्वर देखि बेगखोला सम्मको ८ किलोमिटर सडक मध्य ६ किलोमिटर जेठ महिनाभित्र कालोपत्रे गरिसक्ने उहाँको भनाइ छ ।

सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।