
काठमाडौं । कोभिड–१९ महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
अमेरिकामा रहनुभएका पौडेलले पठाएको रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे ।
‘समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भने, ’प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।’ उहाँले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताउनुभयो ।
कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्