
प्रदिप पौडेल
पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चार मन्त्रीलाई शपथग्रहण गराउनुभएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विनाविभागीय मन्त्रीका रूपमा सपथग्रहण गरेका छन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने काठमाडौं गएकाले सपथमा सहभागी हुनुभएन ।
वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुनः नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री गुरुङ कोभिड पोजेटिभ भएपछि आइसोलेसनमै भएकाले मन्त्रिमण्डल विस्तारमा बिलम्ब भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्नुहुने भएको छ । मुख्यमन्त्री गुरुङले सत्ता टिकाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे)लाई खेलकुद मन्त्री बनाउनुभएको थियो ।
गुरुङ अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर ८ वटा मन्त्रालयलाई कम्तीमा १० वटा बनाउन लागिपर्नुभएको छ । त्यसो त यही आर्थिक वर्षको सुरुमा नै उहाँ मन्त्रालय फुटाउने र कार्य प्रगतिका आधारमा मन्त्री पनि फेर्ने सोचमा हुनुहुन्थ्यो । पार्टीका केन्द्रमा व्याप्त विवादले उहाँको सपना पूरा हुन सकेको थिएन ।
सपथपछि यता आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अध्यादेशबाट नभइ नियमित प्रक्रियाबाटै आउने बताउनुभएको छ । बजेट गत वर्ष भन्दा सानो आकारको हुने र कोरोना लाई केन्द्रित गरी ल्याउने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्