
श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका–४ को भुटनदेवी माध्यामिक विद्यालयमा मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि विद्यालयको पूर्वपट्टिको गेट कोभिड पोजेटिभ मतदाताले प्रयोग गर्नेछन् भने पश्चिमतर्फको गेट अन्य मतदातालाई प्रवेश गराइने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ जानकारी दिनुभयो ।
मतदान केन्द्रमा तीन वटा मत पेटिका राखि मतदानको व्यवस्था गरिएको छ भने स्वास्थ्य मापदण्ड अपनाएर सभ्यरूपमा निर्वाचन गराएर साँझ सम्म नजिता प्रकाशन गरिने निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशमा ९ हजार ५ सय ६४ मत रहेको छ । राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा (बादल), संघियता विज्ञ डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उम्मेदवारी रहेको छ ।
यसैबीच निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार र निर्वाचन अधिकृत, मतदान अधिकृत, पार्टी प्रतिनिधि र सञ्चारकर्मीबीच छलफल भएको छ । बुधबार मतदान केन्दमा भएको छलफलबाट मतदान गर्दा अपनाउने नियमहरु तयार पारिएको छ ।
छलफलबाट मतदान केन्द्र परिसरमा हातहतियार लिएर हिड्न र मादकपदार्थ सेवनमा निषेध गर्ने, गोप्य मतदान भएकाले मोबाइल, क्यामरा प्रयोगमा पनि बन्देज लगाउने, कोभिड पोजेटिभ मतदाता र अन्य मतदातालाई छुट्टै गेटको प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइने लगायतका नियम राखिएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्